Acts 19

1अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे । 2पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त ?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”

3पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त ?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।” 4त्यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्‍चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”

5मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए । 6त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे । 7उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।

8पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्‍वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्‍वास दिलाए । 9तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्‍वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले । 10यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।

11पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो । 12पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।

13तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।” 14त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।

15एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस् ?” 16त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे । 17एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।

18साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे । 19टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो । 20यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।

21अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।” 22पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।

23त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्‍चियो । 24डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे । 25त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।

26तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ । 27त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”

28यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !” 29यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे ।

30पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके । 31साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए । 32केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।

33यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे । 34तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन् !” भन्दै चिच्याए ।

35तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ? 36यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । 37किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन् ।

38त्यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । त्यहाँ तिनीहरूले उजुरी दिऊन् । 39तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ । 40किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।” यति भनेपछि उनले सभालाई विसर्जन गरे ।

41

Copyright information for NepULB